कांग्रेस र जसपाको मागपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आज



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको छ । विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुनसक्ने बताइएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताए ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थामा टेकेर कांग्रेसका र जसपाका सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले आजका लागि दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट हुन् ।

नेकपा विभाजपछि ओलीनिटका नेताहरुको नृतत्वमा रहेका प्रदेश सरकार धरापमा परेका भएपनि गण्डकी प्रदेशमा भने जनमोर्चाको साथले गर्दा गुरुङ नेतृत्वको सरकार ढल्ने सम्भावन छैन ।

प्रतिक्रिया दिनुहोस्