काठमाडौं सबैभन्दा बढी प्रदूषित



काठमाडौं । विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं पहिलो नम्बरमा पुगे पछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमवारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौंमा वायु प्रदूषण बढेको हो ।


वातावरण विभागले नेपालका विभिन्न जिल्लामा वायू प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा अपिल गरेको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको जनाएको हो ।
उपत्यकामा अचानक सोमवारदेखि बढेको वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले पनि अनावश्यक काममा घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।
विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा अझ बढी छ । यसबाट तपाइँ हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ ।’
विभागले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले नीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगर लगायतमा पनि वायु प्रदूषण उच्च भएको पाइएको विभागले जनाएको छ ।


वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहने अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विश्वकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमले अनुसार काठमाडौंको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको बताएको हो । उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । वायु प्रदूषणको तह सबैभन्दा धेरै हुने शहरको सूचिमा काठमाडौं पहिलो नम्बरमा पुगेको हो । त्यसमा गत सोमवार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो भने मंगलवार ४०३ मा झरेको छ । यद्यपि विश्वका विभिन्न शहरहरुको सूचीमा नेपाल शीर्ष स्थानमै रहेको छ । नेपालपछि क्रमशः किर्गिस्तानको बिश्केक, भियतनामको हनोइ, चीनको वुहान, पाकिस्तानको कराँची, अफगानिस्तानको कावुल, बंगलादेशको ढाका, भारतको मुम्बइ लगायतका अत्याधिक वायु प्रदूषण भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्