वायु प्रदुषणको ‘रेड जोन’मा विराटनगर



विराटनगर : विराटनगरमा वायु प्रदूषण अत्याधिक बढेको छ । पछिल्लो केही दिनयता विराटनगरमा चिसो बढेसँगै वायु प्रदूषण बढेको छ । सामान्यतया हावामा प्रदुषणको मात्रा ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । तर विराटनगरको वायु प्रदुषणको अवस्था (एयर क्वालिटी इन्डेक्स) २१९ को विन्दुमा पुगेको हो ।

एयर क्वालिटी इन्डेक्स ०–५० सम्मलाई राम्रो, ५१ देखि १०० सामान्य र १०१ देखि १५० सम्मलाई खतराको सीमामा रहेको बुझिन्छ । यस्तै १५१ देखि २०० सम्मलाई रेड जोन अर्थात् स्वास्थ्यका लागि खतरा रहेको भन्ने बुझिन्छ । त्यसैगरी इन्डेक्समा देखाइएको मापन २०१ देखि ३०० सम्मलाई स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै खतरा ‘भेरी अनहेल्दी’ भन्ने बुझिन्छ ।

यसको अर्थ विराटनगर वायु प्रदुषण खतराको संङ्केतभन्दा माथि रहेको बुझिन्छ । विशेष गरी अहिले विराटनगरमा बढ्दो सवारी चाप,उद्योग कलकारखाना र विकास निर्माणका कामबाट निस्किएको धुलो–मैलोका कारण वायु प्रदुषण बढी भएको हुन सक्ने अनुमान छ । यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने देखिन्छ । डिभिजन बन कार्यालयमा राखिएको वायु प्रदुषण मापन गर्ने डिस्प्लेले विराटनगर प्रदुषणको उच्च जोखिममा रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्