महोत्तरीका किसान उखुखेती छाड्दै



महोत्तरीः प्रदेश २ मा किसानहरुले क्रमशः उखु खेती छोड्न थालेका छन् । नगदेबालीको उधारो कारोवारले आजित भएका किसानहरु अहिले उखुखेती कम गर्न थालेका छन् ।

उनीहरुले उत्पादन गरेको उखुको भुक्तानीका लागि निकै सास्ती व्यहोर्नु परेकाले खेती गर्न छाड्न लागेका हुन । बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबाली खेती तर्फ आकर्षित हुन थालेका हुन् ।

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाकाअनुसार करिब २० हजार बिघामा व्यावसायिक रुपमा उखुखेती हुने महोत्तरी जिल्लामा अहिले घटदै गएको छ । अहिले जिल्लामा छ हजार ५०० बिघामा उखुखेती भइरहेको छ । यसमध्ये दुई हजार ५०० बिघामा खुट्टी ९दोस्रो वर्षको बाली० उखु छ । यो यसपालि खाली भएपछि अर्का वर्ष तीन हजार बिघामा झर्ने सम्भावना छ । उनले भने ‘ऋण काढेर उखुखेती गरिन्छ, उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले उखुखेती गर्न छोडिएको हो ।’

महोत्तरी भङ्गहा नगरपालिका-४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् । त्यही गाउँका अर्का किसान सूर्यदेव मुखियाले वर्षौदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गँहुखेती गरेका छन् । जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आएका किसानहरुले क्रमशः यो पेशा त्यागेर अन्नबालीको साहारा लिन थालेका छन् ।

किसानले उखुको रकम भुक्तानी नपाएपछि वर्षौदेखि पीडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य भएका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनु पर्ने बाध्यता रहेको छ । जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, तालाको पैसा तिर्न नसक्दा घरखेत लिलाम हुने अवस्था आएपछि उक्त पेशा छोड्न बाध्य भएका हुन् ।

सरकारले उखुखेती नगदेबाली र राष्ट्रियबाली भनेर घोषणा गरिसकेको छ । तर नगदेबाली भनिएको उखुको उधारो कारोबारले किसानलाई उखुखेती निल्नु न ओकल्नु भएको छ । उता चिनी मिलले भने विदेशवाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकेको बताउँदै आएको छ ।

प्रकाशित :२२ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्