सिसी क्यामेरा बिग्रिएपछि शान्ति सुरक्षा खलल



दाङ : शान्ति सुरक्षालाई मध्यनजर गर्दै तुलसीपुर बजारमा जडान गरिएका सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर अलपत्र रहेका छन् । 

 

सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन । यहाँका भीडभाड हुने ठाउँमा शान्ति सुरक्षालाई मध्यनजर गरी जडान गरिएका क्यामेरा बिग्रेको डेढ वर्ष बितिसक्दा पनि न प्रहरीले चासो दिएको छ, नत तुलसीपुर उपमहानगरपालिकाले नै ।

 

तुलसीपुरको वीरेन्द्रचोक, बिपी चोक र बसपार्क क्षेत्रलाई लक्षित जडान गरिएका क्यामेरा कन्ट्रोल रुम भने इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको छ । 

 

विसं २०७१ मा तुलसीपुर उद्योग वाणिज्य सङ्घको पहलमा र साविकको तुलसीपुर नगरपालिकाको करीब रु चार लाखको आर्थिक सहयोगमा ती क्यामेरा जडान गरिएका थिए । 

 

यसैबीच इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिग्रिएका क्यामेरा मर्मत गर्न अरु स्थानमा थप क्यामेरा जडान गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकालाई अनुरोध गरिसकेको बताए। उनले नगरपालिकाले बजेट व्यवस्थापन गरिदिए छिट्टै सञ्चालन गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्