ओली होइन ओली प्रवृत्तिका कारण लोकतन्त्र र संविधान संकटमा : नेपाल



काठमाडौँ : नेकपा प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष माधवकुमार नेलालले ओली भन्दा ओली प्रवृत्तिले अहिलेको समस्या निम्तिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भएको नागरिक समाजसँगको अन्तक्रिया उनले ओली प्रवृत्तिकै कारण लोकतन्त्र र संविधान खतरामा पुगेको आरोप लगाए ।

‘प्रधानमन्त्री ओलीले गर्दा अहिलेको समस्या आएको होइन । ओली प्रवृत्तिले समस्या निम्त्याएको हो । केपी प्रवृत्तिले लोकतन्त्र र संविधानमा समेत धावा बोलेको छ’ उनले भने, ‘ओली प्रवृत्तिकै कारणले अहिलेसम्म प्राप्त उपलब्धि संकटमा पुगेको छ ।’

प्रधानमन्त्री ओलीले पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या भएको उनले बताए । प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमविरुद्ध सबै एकजुट भएर लाग्न समेत उनले आग्रह गरे ।
नेपालले आफूलाई पार्टी एक रहँदा ओलीले खेदेको खेदै गरेको पनि बताए । देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनको भनाइ छ । उनले पार्टीभित्रको धेरै पीडा बोकेर आफू हिँडेको बताए । आफ्नो पीडा पोख्ने ठाउँ पनि नपाएको उनको भनाइ छ ।

जनतालाई आश्वस्त तुल्याउन सुझाव

कार्यक्रममा नेकपाका शीर्ष नेताहरूलाई माफ मागेर जनतालाई आश्वस्त तुल्याउन नागरिक अगुवाहरूले सुझाव दिए ।

उनीहरूले नेकपाको विभाजित घटककै ब्यानरमा जनता सडकमा आउन मुस्किल हुने टिप्पणी गरे । पार्टी एकतायता नेकपाका तर्फबाट भएका कमीकमजोरी, गल्तीप्रति जनता सामु माफी माग्नुपर्ने उनीहरुले धारणा राखे ।

सरकार गठनयता नेकपाको काम नै झगडा सिर्जना गर्ने र मुलुकलाई त्यसैमा अल्झाउने भएकाले पार्टीको कलहका कारण प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्न पुगेको बुझाइ जनतामा रहेको अगुवाहरूले बताए ।

अन्तरक्रियामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले कम्युनिस्ट पार्टीको ब्यानरबाट आन्दोलनको उभार आउन नसक्ने बताए । उनले नेकपाले तयारी गरिरहेको आन्दोलनको गन्तव्य सत्ता प्राप्ति हो भन्ने भान किञ्चित पनि पार्न नहुनेमा जोड दिए ।

नागरिक अगुवा कृष्ण पहाडीले नेकपाभित्र द्वैध मनोदशा रहेको औँल्याए । नेकपा शीर्ष नेतृत्व प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिगामी हो भनेर सडकमा आइसक्दा पनि केपी ओली पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा राखिरहनुले आन्दोलनमा शङ्का, संशय र प्रश्न तिनै चिज जन्माएको उनको ठहर थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले संसद् विघटनप्रति बोल्नुपर्ने समुदायले पनि मौनता साँधेको बताए । उनले हिजो ‘संविधानको निर्माता हुँ’ भन्नेहरू पनि अहिले चुप लागिरहेको र पदको अभिलाषाले तिनको चेतनालाई बन्धक बनाइदिएको टिप्पणी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले संविधानको मात्र नभई जनमतको रक्षाका लागि पनि सडक सङ्घर्षमा आउनुपर्ने आवश्यकता रहेको बताइन् ।

प्रकाशित :२३ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्