सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा



धनगढी : जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् ।

काठमाडौंबाट श्री एयरलाइन्सबाट धनगढी पुगेका हुन् । ओलीले नेकपाको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्ने छन् ।

त्यसका लागि सदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ कार्यकर्ता धनगढी भेला भएका छन् । ओली धनगढी नपुग्दै उनको विरोधमा दाहाल-नेपाल समूह निकट अनेरास्ववियुका विद्यार्थी नेताहरूले ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

कडा सुरक्षा व्यवस्थालाई छिचोल्दै उनीहरूले टायर बालेर विरोध गरेका छन् । केही स्थानमा कालो झण्डासमेत देखाउने तयारी गरेपछि सुरक्षा निगरानी उच्च पारिएको छ ।

प्रधानमन्त्रीको सुरक्षार्थ विमानस्थलदेखि खुला मञ्चसम्म नेपाली सेनाको विशेष टोली परिचालन गरिएको छ । स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको हो ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार सशस्त्र प्रहरीसमेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ ।

प्रकाशित :२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्