भालुको आक्रमणमा परी २ जना घाइते



डोटी : डोटीको आदर्श गाउँपालिका-१ मा जङ्गली भालुको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी ५ वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् ।

हिजो साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पुर्याएको अस्पतालका डा.ललित लिम्बूले जानकारी दिएका छन् ।

जिल्लामा खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने गरेको सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिए ।

आक्रमण गर्ने भालु अहिले पनि गाउँमै भएका कारण त्यहाँका स्थानीयवासीले भालुलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । रासस

प्रकाशित :२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्