काठमाडौं : आफ्नो पक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् ।
धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई केन्द्रीय मन्त्री एवं जिल्ला नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीलाई स्वागत गरेनन् ।
सामान्यतया कुनै पनि प्रदेशमा प्रधानमन्त्री जाँदा त्यहाँको मुख्यमन्त्री स्वागतका लागि जाने परम्परा छ । मुख्यमन्त्री भट्ट नजानुले कार्यक्रममा नजानुलाई ओलीपक्षीय नेताले गम्भीरताका साथ हेरेका छन् ।
पार्टीमा आएको फुटको असर प्रदेशसम्म परेको प्रसंगलाई यसले थप बढावा दिएको छ । भट्ट नेकपाकै दाहाल-नेपाल समूहका मुख्यमन्त्री हुन् ।
केही दिन मात्र मुख्यमन्त्री भट्टले ओलीनिकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । बोहराको बर्खास्तीपछि सुदूरपश्चिम प्रदेशमा ओली र दाहाल-नेपाल समूहको तिक्तता झन् बढेको छ ।
प्रकाशित :२४ पुष, २०७७