धानको मूल्यले किसान लाभान्वित



विराटनगरः सरकारले धानको मूल्य निर्धारण गरेपछि किसानले अपेक्षित लाभ लिन थालेका छन् ।

विगतमा किसानले उत्पादन गरेको धानको मुल्य र बजारको समस्या थियो । तर अहिले उत्पादित धान सरकारले खरिद गर्न थालेपनि किसानहरु लाभान्वित भएका हुन् ।

सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ८ सय ८५ निर्धारण गरेको छ । विराटनगर महानगरपालिकास्थित खाद्य व्यवस्था कार्यालयले अहिलेसम्म १५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको छ ।

खाद्य व्यवस्था कार्यालय विराटनगरका प्रमुख महेन्द्र सिटौलाका अनुसार खाद्य व्यवस्था कार्यालयले जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरिसकेकाले अब किसानले धानको बजार पाएनन् भन्ने अवस्था अन्त्य भएको बताए ।

कुनै पनि बिचौलियाले अनुचित लाभ नलिउन भन्ने उद्देश्यले जिल्ला प्राथमिक खरिद समितिको संयोजक प्रमुख जिल्ला अधिकारी, कृषि ज्ञान केन्द्र, किसान प्रतिनिधि र खाद्य व्यवस्था कार्यालयका प्रमुख सदस्य सचिव रहने समितिको अनुगमन एवं निर्णयले वास्तविक किसान मात्र लाभान्वित भइरहेको उनको भनाई छ ।

प्रदेश १ मा झापाको विर्तामोड र मोरङको विराटनगरमा खाद्य व्यवस्था कार्यालय स्थापना भएको छ ।

प्रकाशित:२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्