प्रचण्ड-माधव समूह भगौडा हुन्ः प्रधानमन्त्री ओली



धनगढी : प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् ।

उनले पार्टी छोडेर भागेका प्रचण्ड-नेपालको समूहलाई भगौडाको संज्ञा दिदै उनीहरुको कुरा नसुन्न आग्रह गरे ।

सुदूरपश्चित प्रदेशको धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको टिप्पणी गरे । प्रधानमन्त्री ओली भने, ‘अरुलाई गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका नसुन्नुस ।

पार्टीको बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा ‘हामी यहाँ छौं’ भनेर बसेको उनले बताए ।

‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर ‘हामी यता छौँ’ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन । हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने ।

भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए ।

‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर प¥यो’, ओलीले भने । सम्बोधनका क्रममा ओलीले माघ १ गते परराष्ट्र मन्त्री भारत जान लागको पनि जानकारी दिए । उनले सीमा नाकाको अवस्था सुधार हुने पनि बताए । परराष्ट्र मन्त्रीको भारत भ्रमणका क्रममा सीमाको बारेमा कुरा हुने प्रधामनन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई कसैले पनि पछाडि पार्न नसक्ने बताउँदै सुदूरपश्चिमका सम्पूर्ण समस्याबारे आफूलाई जानकारी भएको उल्लेख गरे । ओलीले पश्चिम सेती विद्युत परियोजना अगाडि बढाइने बताउँदै विदेशी लगानी खोजेर भएपनि आयोजनाका काम अगाडि बढाइने बताए ।
ओलीले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने घोषणा गरे । ‘गेटालाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गर्न प्रक्रिया थालिएको छ,’ उनले भने ।

ओलीले चोईटिएर जानेहरुलाई दुई अंकमा चुनाव जितेर देखाउन चेतावनी दिए । ‘१० वटा सिट ल्याएर देखाउनुस्,’ उनले भने । उनले संसद विघटनलाई असंवैधानिक भन्नेहरु एक पटक संविधान पढ्न आग्रह गर्दै उनले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’ ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री आफू भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ’मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ ।’

‘अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनस्र्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न,’ उनले दाबी गरे । कतिपयले केपी ओलीले चुनाव गर्दैन पनि भनेका छन् बताउँदै उनले चुनाव वैशाख १७ र २७ गते नै हुने ठोकुवा गरे । नेकपालाई आफ्नो भन्न प्रचण्ड-नेपाल समहूले पहिला मन र मानसिकता परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । ‘दाहाल-नेपालहरुको मन परिवर्तन होस् । उहाँहरुले आँखा आफन्त तिर होइन देशतिर लगाउनुहोस् । देशतिर फर्काउनुहोस्,’ओलीले भने ।

प्रकाशित:२४ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्