रायमाझीले पाए भिक्टोरी हाफ म्याराथनको उपाधि



बुटवल : जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उनले उपाधि हात पारेका थिए ।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए । बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हाँसिल गरेका थिए ।

यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले १ घण्टा ३३ मिनेट ३४ सेकेण्डमा दूरी पार गरेकी थिइन् । सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भए भने गोरख दल गण पाल्पाकी मिनिषा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी थिइन् ।

विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा सकएको थियो ।

प्रकाशित :२५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्