धनुषाको ८ प्रदेशसभामा कांग्रेसको विरोध प्रदर्शन



जनकपुरधाम : गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशको ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिरहेको छ ।

सोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन बमोजिम धनुषाको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो ।

नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रिय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार राजा गोइत,२ को (ख) मा केन्द्रिय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ को ९क० मा प्रदेशसभा सदस्य रामसरोज यादव, ३ को (ख) मा केन्द्रिय सदस्य मिनाक्षी झा एवं क्षेत्रिय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यका उम्मेदवार बासुलाल महतो एवं ४ को (ख) मा केन्द्रिय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरेको छ ।

कोणसभामा बोलेका नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरि अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गरेको आरोप लगाएका थिए । उनीहरूले प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको बताउँदै संसद विघटन देश र जनताको लागि घातक सिद्ध हुने दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीको यस कदमले संघीयता धरापमा परेको र यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकोले नेपाली कांग्रेस त्यसविरुद्ध आन्दोलनमा उत्रेको कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

प्रकाशित : २५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्