सर्वाेच्च अदालतबाट न्याय हुन्छ : जसपा अध्यक्ष ठाकुर



बुटवल : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निष्पक्षता र न्याय निरुपणमा पूर्ण विश्वास रहेको बताउँदै अदालतबाट न्याय हुने विश्वास व्यक्त गरेका छन् ।

प्रेस नेपालले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वाेच्च अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे । ‘अदालतमा विचाराधीन छ, न्याय हुने विश्वासमा छौ, त्यसैले अदालतबाट फैसला नआउँदासम्म हामी पर्ख र हेरको स्थितिमा छौं,’ अध्यक्ष ठाकुरले भने, ‘अदालतको फैसला आएपछि त्यसको आधारमा अगाडिको रणनीति निर्धारण गरिनेछ ।’

उनले मधेशवादी दलहरुसँग गरिएका सहमति सम्झौता उल्लंघन गरेर संविधान बनाइएकाले सुरुदेखि नै आफूहरुले संविधान त्रुटिपूर्ण छ भन्दै संशोधनका माग गर्दैआएको बताए । प्रतिनिधि सभा विघटन संविधान विपरीत भएकाले यस्तो असंवैधानिक कदमविरुद्ध जसपाले नै सबैभन्दा पहिले आन्दोलन सुरु गरेको बताउँदै उनले विरोधमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल हुने दावी गरे ।

संसद पुनर्स्थापना नभएर चुनावमा जाने अवस्था आए चुनावका लागि पनि जसपा तयार रहेको उनले स्पष्ट पारे । ‘हामी चुनावबाट भाग्दैनौं,’ ठाकुरले भने, ‘यस विषयमा पार्टीमा एकमत छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले हालको संघीय संरचनाप्रति पनि पार्टीको असहमति कायमै रहेको बताए ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमांकन र नामांकन हुनुपर्ने माग यथावत रहेको बताउँदै उनले भने– ‘ओलीजी सुरुदेखि नै संघयीता विरोधी हो, हामीले मधेशमा बहिस्कार पनि गरेका हौं, अहिलेको सरकार पनि संघीयता विरोधी छ।’

प्रतिक्रिया दिनुहोस्