निर्वाचन आयोगद्वारा प्रचण्ड-नेपाल समूहको आग्रह अस्वीकार



काठमाडौं : प्रचण्ड-नेपाल समूहले निर्वाचन रोक्न गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

आज निर्वाचन आयोगमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सरकारले तोकेको निर्वाचन रोक्न आग्रह गरेका थिए ।

उनीहरुले संसद विघटन सम्बन्धको फैसला नआएसम्म निर्वाचनको काम नगर्न आयोगलाई आग्रह गरेको बताइएको छ । नेताहरुले आयोगलाई स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम गर्न सुझावसमेत दिएको बताइएको छ । तर निर्वाचन आयोगले भने सरकारले तोकेको मितिमा निर्वाचन गराउने काम थालिसकेको र नरोक्ने जवाफ दिएको हो ।

अदालतले निर्वाचन नगर्न नभनेसम्म काम रोक्न नसकिने आयोगका अधिकारीहरुले बताएको जनाइएको छ । साथै प्रचण्ड-नेपाल समुहलाई आयोगको तटस्थतामा शंका नगर्न आग्रहसमेत गरेको बताइएको छ । गत पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै आगामी बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति घोषणा भएको छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्