लागूऔषधसहित २ जना पक्राउ



दैलेख : दैलेखमा लागुऔषधसहित २ जना युवायुवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१० बाँकेको कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बैजनाथ गाउँपालिका-१ बाँकेको गाभरका २१ वर्षीय विशाल रोकाय हुन् ।

उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर पनि बरामद गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिएका छन् । हिजो साँझ दैलेखको गुराँस गाउँपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चौकी (कर्णाली राजमार्ग) चेक पोष्ट नजिकै सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई खानतलासी गर्दा लागू औषध ब्राउन सुगर फेला परेको श्रेष्ठले जानकारी दिए ।

खानतलासी गर्दा सिर्जना गुरुङको खुट्टाको मोजाबाट लुकाइ राखेको ४० पुडिया बनाइ धागोले बेरेर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ र विशाल रोकायको साथबाट नगद ३४ हजार फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप गरी अनसुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्