आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको नेपालको दाबी




काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले सानो गुटको प्रतिनिधित्व मात्रै गरेको पनि दाबी गरे ।

सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरुलाई नै निर्वाचन आयोगले आधिकारिकता दिने दावी गरे । ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, नेपालले भने ।

उनले विरोधीलाई तह लगाउन प्रधानमन्त्री केपी ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गर्दै उनले कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको नेपाले भने । ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ । उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ,’ उनले भने ।

उनले विगतमा आफूहरुले ओलीमाथि देखाएको उदारता कमजोरी भएको बताउँदै उनी केही गरी पनि नसुध्रिएको बताए । नेपालले प्रधानमन्त्री ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरे । नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए ।

उनले भने, ‘पार्टीमा ओलीले गणतन्त्रको विरोध गर्नुभएको थियो । गणतन्त्रलाई कोरा कल्पना भन्नुहुन्थ्यो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट उहाँ विचलित हुनुभएको छ ।’ ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको पनि उनको आरोप छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्