रसुवामा ट्रिपर दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते



रसुवाः रसुवाको कालिका गाँउपालिका ४ अम्बासमा गएराति ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गएराति करिब  १० बजे दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन्।

 

मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका ३ का ४० वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङ रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ।

 

बेत्रावतीबाट बालुवा लोड गरी पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा परी घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका ३ का जीवराम थोकर ट्रिपरमा सवार सार्की लामा र उनका ११ वर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल ल्याइएको छ। घाइतेमध्ये सार्की लामाको अवस्था भने गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्