वैदेशिक रोजगारीबाट फर्केका नेपाली उद्यमीलाई सम्मानको लागि आवेदन माग



काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरेको छ ।

वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुको योगदानको कदर गरी स्वरोजगारीलाई प्रोत्साहन गर्न सम्मानको लागि आवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को अनुसूची २ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ । आवेदन आउँदो माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन मन्त्रालयले आग्रह गरेको छ ।

श्रमिक भिसामा विदेश गइ कम्तिमा पनि एक वर्ष काम गरि फर्किएको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन सक्ने छैनन् ।

नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि आवेदनसँगै पेश गर्नुपर्नेछ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ व ०७६–७७ को कर चुक्ता प्रमाण–पत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

आवेदनको फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१–४२००४७६ मा सम्पर्क गरेर बुझ्न सकिन्छ ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्