ओलीको लक्ष्य प्रदेशसभा पनि विघटन गर्नु हो : उपेन्द्र यादव



वीरगन्ज : जसपा नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको लक्ष्य प्रदेशसभा पनि विघटन गरेर संविधान नै खारेज गर्ने रहेको दाबी गरेका छन् ।

संसद विघटनविरुद्ध जसपाले वीरगन्जमा सोमबार गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओलीको अबको लक्ष्य प्रदेशसभा पनि विघटन गर्ने, देशमा संकटकाल लागु गर्ने र त्यसपछि संविधान खारेज गर्ने रहेको दाबी गरे ।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि जसपाले देशव्यापी रुपमा संघर्षमा उत्रिएको छ,’ उनले भने, ‘ओलीले सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहको उपलब्धि संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षतालाई समाप्त पार्ने षडयन्त्र गरेर संसद विघटन गरेका हुन ।’ अध्यक्ष यादवले पार्टी र सरकार चलाउन नसकेको असक्षमताका कारण होइन, ओलीले संघीयता र संविधानका उपलब्धि समाप्त पार्न पछिल्लो कदम चालेका बताए । यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने बताए ।

सत्तामा ओली रहेसम्म लोकतन्त्रमाथि खतरा कायम रहि रहने भएकाले लोकतन्त्रको रक्षाका लागि ओलीलाई सिंहदरबारको सत्ताबाट मिल्क्याएर फाल्नु आजको आवश्यकता रहेको यादवले बताए । लोकतन्त्र र संघीयताको रक्षाका लागि भएपनि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरुलाई एकजुट भएर संसद पुर्नस्थापनाको लागि संघर्ष गर्न उनले अपिल गरे ।

ओलीले बैशाखमा चुनाव नगराउने ठोकुवा गर्दै यादवले चुनावको प्रलोभनमा नपर्न कांग्रेसलाई आग्रह गरे । उनले संवैधानिक नियुक्तिको भागबण्डामा परेर कांग्रेसले अहिले लोकतन्त्रको घाँटी रेट्ने काम गरिरहेको पनि आरोप लगाए ।

ओली संविधान नै खारेज गरेर तानाशाही बन्न तरखरमा रहेको बताउँदै उनले त्यो सपना पूरा हुन दिन नहुने बताए । ‘सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार केपी ओलीलाई छैन, लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्नका लागि प्रतिनिधिसभा भंग गरेका हुन्,’ उनले भने, ‘प्रदेशसभा भंग गर्ने, देशमा आपतकालिन अवस्था घोषणा गर्ने र संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको छ । त्यसलाई कदापी पूरा हुन दिनु हुँदैन ।’ यादवले भने,‘केपी ओलीले कम्युनिष्टको मुखौटा मात्र लगाएका हुन्, उनको असली रुप रोयलिष्ट हो ।’

विरोधसभालाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टी भित्रको झगडाको निहुँमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई नै संकटको खाडलमा धकेलेको आरोप लगाए । उनले न्यायालयले संसद पुनःस्थापना गरेर संविधानको रक्षा गर्नेमा आफुहरु पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

नेता लक्ष्मणलाल कर्णले संसद पुनः स्थापना हुने ठोकुवा गर्दै भने,‘संसद पुनःस्थापना हुन्छ र अब संविधान पनि संशोधन हुन्छ ।’

प्रकाशित : २७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्