कम्युनिष्टलाई दुई तिहाई मत दिएर जनताले ठुलो अपराध गरे : नेता महतो



जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई दुई तिहाई मत दिएर जनताले ठुलो अपराध गरेको बताएका छन् ।

जनता समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा तथा विरोधसभामा बोल्दै नेता महतोले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्धारा चुनिएको प्रतिनिधिसभालाई बिचमै हत्या गरेर देशलाई दुर्घटना तर्फ धकेलेको आरोप लगाए ।

उनले भने,‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथीको गम्भीर प्रहार हो । संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई ओलीले आफ्नो कुर्सी बचाउनका लागि अकालमा हत्या गरेका छन् । अमेरिकामा २०० वर्ष र भारतमा ७० वर्षदेखि एउटै संविधान छ तर, हाम्रो देशमा ७-७ वटा संविधान बनिसकेपनि मधेशी जनता आफ्नो अधिकार पाउनबाट बञ्चित छन् ।’

नेता महतोले संविधानमा उल्लेख नै नरहेपनि ओलीले मनोमानी ढंगले संसद विघटन गरेको आरोप लगाउँदै ओलीतन्त्रको मतलव मनपरीतन्त्र रहेको दावी गरे । उनले भने,‘मधेशी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले संविधान निर्माण गरेपनि अहिलेसम्म मधेशी जनता अधिकार पाउनबाट बञ्चित छन् । जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो देशमा त्यसैदिन प्रतिगमन भइसकेको थियो ।’

विरोधसभामा जसपाका नेता शरत् सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली जनताको दुश्मन रहेको आरोप लगाए । उनले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक वितण्डा मचाएको धारणा राखे ।

आफुहरु चुनावको पक्षमा नरहेको बताउँदै नेत भण्डारीले सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरि चुनावमा जाने निर्णय गरे त्यो देश र जनताका लागि नजिर बन्ने जिकिर गरे । कार्यक्रममा जसपाका नेताहरु रेणु कुमारी यादव, वृषेश चन्द्र लाल, उमाकान्त झा, जितेन्द्र सोनललगायतका नेताहरुले समेत आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित :२७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्