गृहमन्त्री थापाद्वारा सुरक्षा निकायलाई निर्देशन



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित भइसकेको भन्दै निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज गृह मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक परिस्थिति असहज भए पनि सरकार मध्यावधि निर्वाचनको तयारी गरिरहेको छ ।

अर्थमन्त्री विष्ण पौडेल, गृहसचिव महेश्वर न्यौपाने र तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू बैठकमा उपस्थित रहेका थिए । बैठकमा थापाले सुरक्षा निकायलाई आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने सरकारको घोषणा रहेकाले सोहीअनुसार तयारी गर्न निर्देशन दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखले मौजुदा स्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत साधनको सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए । अर्थमन्त्री पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययीतालाई ध्यान दिएर केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालयमार्फत् पठाउन निर्देशन दिए ।

गृहले निर्वाचनको पक्षमा माहोल बन्दै गइरहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासमा संलग्न हुन सबै राजनीतिक दल र सरोकारवालालाई गतिविधि सञ्चालन गर्दा शान्तिपूर्ण ढंगले गर्न गराउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित : २७ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्