भारत र चीनबीच पनि मित्रवत् व्यवहार होस्, सबैको हित यसैमा छ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच रहेको नक्साको विषय संवादबाट सुल्झाउनुपर्नेमा जोड दिएका छन् । भारतीय न्यूज च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिँदै उनले सीमा सन्बन्धी विवादमा नेपालले पहिल्यै संवादमार्फत निकास खोज्ले प्रयास गरिरहेका बेला भारतले उल्टै नक्सा जारी गरेपछि नेपालले पनि जारी गरेको बताए ।

‘भारतले पहिला पनि नक्सा जारी गर्‍यो, त्यहाँ बाटो बनायो । हामीले संवाद गरौँ भनिरहेको वेला बाटो उद्घाटन पनि गर्यो, त्यो आवश्यक थियो ?’ ओलीले भने, ‘नेपालले पनि आफ्नो नक्सा जारी गरेको छ । विवाद छ भन्दैमा नक्सा जारी गर्ने काम रोकिँदैन । अहिले फरक–फरक नक्सा छन् । भोलि जुन दिन निक्र्यौल हुन्छ नक्सा एकै प्रकारका बन्छन् ।’

भारत वा चीन कुनै पनि ध्रुवमा नेपाल नलाग्ने पनि ओलीले स्पष्ट पारेका छन् । ‘हामी सबैको हित यसैमा छ कि भारत र चीनबीच पनि मित्रवत् व्यवहार होस् । दुईमध्ये कुनै पनि देशविरुद्ध हामीले आफ्नो भूमि प्रयोग गर्ने दिने छैनौँ,’ उनले भने । साथै प्रधानमन्त्री ओलीले भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने पनि बताएका छन् ।

उनले भने, ‘भारत रचीनबीचको सम्बन्ध सुमधुर बनाउन म सी जिनपिङ वा ली खछियाङसँग पनि कुरा गर्न सक्छु, मोदीसँग पनि कुरा गर्न सक्छु । त्यसको लागि म तयार छु ।’

प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै सार्वभौम देश भएकाले समानताका आधारमा मित्रता बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । ‘हामीले सधैँ सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्नुपर्छ । भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसमा आपत्ति छैन ।’ ओलीले भनेका छन्, ‘भारत भगवान् वा ठूलो हो, वास्तविकता हामी दुवै बराबरी हौँ । भारतले अब आफूलाई ठूलो वा बोस सोच्छ भन्ने पनि मलाई लाग्दैन । किनकि अब औपनिवेशको जमाना गयो । समानताको युग आयो ।’

प्रतिक्रिया दिनुहोस्