संसद विघटन असंवैधानिक, निर्वाचन संवैधानिक : उपसभापति निधि



जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन असंवैधानिक रहेपनि निर्वाचन भने संवैधानिक रहेको बताएका छन् । आज (मंगलबार) नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए ।

उनले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ । त्यसका लागि दुईवटा संवैधानिक बाटो छ । सर्वोच्चद्धारा संसद पुनस्र्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन् । यी दुबै विकल्प संवैधानिक छन् । अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा अत्यन्त आवश्यक रहेको उनले बताए । ‘जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिन्छ । तर ,प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन् ।’ निधिले थपे ।

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । उपसभापति निधिले नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने,‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’

वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्