मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट निवेदनउपर सुनुवाइ शुरु



काठमाडौं : मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनउपर सर्वाेच्च अदालतमा सुनुवाइ शुरु भएको छ । सर्वाेच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा अहिले केही बेरअघि सुनुवाइ शुरु भएको हो ।

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट इजलासको चौथौ नम्बरमा थियो । त्यसअघि तीन वटै मुद्दाको सुनुवाइ सकिएपछि यो विषयले सुनुवाइका लागि पालो पाएको हो । गत पुसको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले सर्वाेच्चमा रिट दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइमा सर्वाेच्चले सरकारसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाएको थियो ।

आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहितका सरकारी वकिलले मन्त्रिपरिषद् विस्तारको औचित्य पुष्टि गर्दै सवैधानिकताबारे तर्क प्रस्तुत गर्नेछन् । रिट निवेदकका कानुन व्यवसायीहरुले भने प्रतिनिधि सभा विघटन भएपछि निर्वाचन मिति सार्वजनिक भइसकेको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नसक्ने भन्दै त्यसलाई अवैधानिक घोषणा गर्न आदेशको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्