जबज छाड्ने ओली नै पहिलो व्यक्ति : प्रचण्ड




पोखरा : प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) छाड्नेमा पहिलो हस्ताक्षर केपी शर्मा ओलीले नै गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा तत्कालीन एमालेको बहुदलीय जनतवाद र माओवादी केन्द्रको एक्कइसौँ शताब्दीको जनवादलाई त्यागेर छाडेर जनताको जनवाद तय गरिएको र त्यसमा पहिलो हस्ताक्षर ओलीले नै गरेको दाबी गरे । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेश स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन एमालेले मान्दै आएको मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ओलीले नै त्यागेको बताए ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजनपछि ओली समूहमा गएको पूर्व माओवादीहरुमाथि प्रश्न उठाए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहेको फर्सी भनेको सुनेर कसरी बस्न सकेको हो भनि प्रश्न गरेका हुन् ।

‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको होरु’ पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु अहिले ओली समूहमा लागेर मन्त्री बनेका छन् । बालकृष्ण ढुंगेल, कालीबहादुर खाम लगायतका नेताहरु पनि सो समूहमा लागेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जनयुद्धले राजनीतिक परिवर्तन ल्याउनमा उल्लेख्य भूमिका खेलेको भन्ने दस्तावेजमा हस्ताक्षर गरेको स्मरण गरे । ‘के राजनीतिक परिवर्तन गर्न जनयुद्धले खेलको भूमिका उल्लेखनीय छ भनेर केपी ओलीले गरेको हस्ताक्षर कीर्ति हो ?’, उनले प्रश्न गरे ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्