ओलीजी, बाटो बिराउनु भयो, फर्कनुस् : नेपाल




पोखरा : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बाटो बिराएको टिप्पणी गरेका छन् । ओलीले बाटो बिराएकाले उनलाई फर्कन अध्यक्ष नेपालले आग्रह गरे ।

गण्डकी प्रदेश कमिटीले पोखरामा मंगलबार आयोजना गरेको कार्यक्रममा नेपालले ओलीलाई सच्चिन आग्रह पनि गरे । ‘केपी ओलीजीले बाटो बिराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ,’उनले भने ।

अध्यक्ष नेपालले ओलीले गल्ती स्वीकार गर्न आग्रह गर्दै भने, ‘तपाइँले संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । अहिले नै सच्चिनुस् । गल्ती स्वीकार गर्नुस् । प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् ।’

ओलीमा इमानदारी नभएको पनि अध्यक्ष नेपालले बताए । नेपालले ओलीमा कम्युनिस्ट आचरण नभएको दाबीसमेत गरे । उनले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको पनि टिप्पणी गरे ।

पार्टी गुट र व्यक्तिबाट चल्ने नभई विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ । उनले नेकपामा देखिएको विवाद यो पार्टीलाई कस्तो बनाउने भन्ने रहेको बताए । आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको उनले बताए । उनले केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको आरोप लगाए ।

‘उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ’ अध्यक्ष नेपालले ओली प्रवृतिको आलोचना गर्दै भने,‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन ।’ अध्यक्ष नेपालले आफ्नो पक्षमा ४३४ केन्द्रीय समिति मध्ये ३१५ जना रहेको र ओलीको पक्षमा ११८ जनामात्रै रहेकाले बहुमत कस्को पक्षमा हुन्छ छुट्याउन आग्रह गरे । उनले आफूले नेतृत्व गरेको नेकपा नै मूल पार्टी भएकाले सूर्य चिन्ह पनि कसैले खोस्न नसक्ने बताए । उनले केपी ओलीको समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा दिए ।

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्