
काठमाडौं : भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड पाएकी छिन् ।
आज भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस विधामा अरुणाले अवार्ड जितेकी हुन् ।
कप्तान अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जिते । अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ २८.४५७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहे ।
तेस्रो स्थानमा सदिना १३.४९९, चोथोमा गौरिका १३.३०९ तथा पाँचौमा सावित्रा ७.२१८ प्रतिशत मत प्राप्त गरे । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो ।
त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३-२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो ।
अरुणालाई जिताऔं भन्दै पोखरामा न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो । अरुणाले ईसेवाबाट १ लाख ९४ हजार ७ सय ४७ अर्थात २७.८४२ प्रतिशत मत पाईन् । प्रशिक्षकबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत प्राप्त गरिन् ।
यस्तै मन्डेकाजीले ईसेवाबाट १ लाख ६ हजार ६ सय ७२ अर्थात १५.२५० प्रतिशत मत पाए । फेसबुक लाईकमा १६ हजार ३ सय २८ अर्थात ७.६८० प्रतिशत मत पाए । मुख्य प्रशिक्षकबाट ३.०५३ र मञ्चका सदस्यबाट २.४७४ प्रतिशत गरि कुल २८.४५७ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा रहे ।
प्रकाशित -२८ पुष, २०७७