राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित



काठमाडौं : अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ ।

२५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो । यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए ।

यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसदमा ट्रम्पविरुद्ध दोस्रो पटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको छ । आज तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ ।

गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्