प्रदेश २ मा थप दुई विधेयक प्रमाणीकरण



जनकपुरधाम : प्रदेश २ मा थप दुईवटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको दुवै विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुवै विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । यो दुवै विधेयक केही महिनाअघि प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रदेश प्रमुखका रुपमा परियार आएपछि उनले यी दुईसहित १६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । योसँगै प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ३८ पुगेको छ ।

प्रकाशित : २९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्