नेपाल-पोल्याण्ड परामर्श संयन्त्रको दोस्रो बैठक सकियो



काठमाडौं : नेपाल-पोल्याण्ड परामर्श संयन्त्रको दोस्रो बैठक भिडियो कन्फ्रेन्समार्फत् सकिएको छ ।

आज बसेको बैठकमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै आयामहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा दुवै पक्षले आ-आफ्नो देशको पछिल्लो विकासको बारेमा जानकारी गराएका थिए ।

दुवै पक्षले बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदान-प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । द्विपक्षीय व्यापार, लगानी, प्रविधि हस्तान्तरण, पर्यटनलगायतका क्षेत्रमा आर्थिक साझेदारीलाई प्रोत्साहन गर्नुपर्नेमा दुवै पक्ष बैठकमा सहमत भएका छन् ।

पोल्याण्डमा नेपाली आप्रवासीको संख्या बढ्दै गएकोले दुई देशबीच अब सांस्कृति र शैक्षिक सहयोग र सम्भावित रोजगारीका अवसरहरुका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयको युरोप तथा अमेरिका महाशाखाका प्रमुख सहसचिव निर्मलराज काफ्लेले गरेका थिए भने पोल्याण्डको नेतृत्व विदेश मन्त्रालयको एसिया तथा प्यासेफिक निर्देशक विटोल्ड सोब्कोले गरेका थिए ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्