ओलीले चुनाव गर्छन् भनेर पत्याउनु वेवकुफी : बाबुराम भट्टराई



पोखरा : जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हार्ने चुनाव नगर्ने बताएका छन् ।

ओलीले यो कुरा बुझेकोले पनि कुनै पनि हालतमा चुनाव नहुने उनले दाबी गरे । हुँदाखाँदाको दुई तिहाईको सरकार ढालेर ओलीले चुनाव गर्छन् भनेर पत्याउनु वेवकुफी हुने उनको भनाई छ ।

संसद विघटनविरुद्ध पोखरामा जसपाले आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराइले प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको आरोप लगाए । ‘यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखिएको छ, प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, तर उनी तयार छैनन् ।’

प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने चेतावनी समेत उनले दिए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरे । भट्टराईले प्रधानमन्त्री ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी गर्दै भने, ‘आफ्नो शासन सत्ता लम्ब्याउन केपी ओलीले भारतसामु घुँडा टेकेका हुन ।’ ’हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसके’,उनले भने,‘ओलीले आत्मसमर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछन्, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेका हुन् ।’

अध्यक्ष डा.भट्टराईले डोनाल्ड ट्रम्पलाई जस्तै केपी ओलीलाई पनि महाअभियोग लगाउनुपर्ने बताए । जसरी अमेरिकामा डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदैछ, त्यसरी नै केपी ओलीलाई पनि हामीले कारवाही गरेर महाअभियोग लगाउने दिशातिर पनि जान सक्छौं, त्योबाटो हामीसँग छ । तर त्यसका लागि नेपाली कांग्रेसले खुट्टा कमाउनु भएन ।’ अदालतबाट संसद भंगलाई सदर गरिदिएमा जनताको अदालतबाट फैसला गर्नुपर्ने उनको भनाइ छ । ‘सर्वोच्च अदालत भन्दा जनताको अदालत माथि हुन्छ, त्यस्तोबेला सडकबाटै फैसला गर्नुपर्ने हुनसक्छ ,’ उनले भने ।

यस्तै पार्टीका नेता अशोक राईंले केपी ओलीले चुनावको सपना बाँढ्दै देशलाई प्रतिगमनतर्फ लगिरहेको आरोप लगाए । चुनाव गराउनका लागि ओलीले संसद विघटन नगरेको बताउँदै उनले भने,‘तर कांग्रेस दुई वर्षपछि हुने चुनाव २ वर्ष अघि नै आयो भनेर दशैं आएझैं रमाईरहेको छ ।’ कांग्रेसले ओली प्रवृत्ति नबुझ्दा संयुक्त संघर्ष गर्न नसकिएको उनको भनाई छ । पोखराको मानवअधिकार चोकबाट निस्केको विरोध ¥याली पृथ्वीचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रकाशित :२०७७

प्रतिक्रिया दिनुहोस्