परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान



काठमाडौं : नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।

गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । जसको कारण पनि परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपालबाट भारत भ्रमणमा जान लागेका मन्त्री ज्ञवाली सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् ।

प्रतिनिधिसभा विघटनअघि भारतबाट परराष्ट्रसचिव हर्षबर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे, ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र सत्तारुढ भाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्रीको यो भ्रमण सफल हुने दाबी सरकारी अधिकारीले गरेका छन् ।

तर नागरिक समाजका अगुवाहरुले भने परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका विषयमा सहमति नगर्न आग्रह गरेका छन् । भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्