परराष्ट्रमन्त्री ज्ञवालीले नयाँ दिल्लीमा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने



काठमाडौं : तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोलि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । भारत सरकारसँग निकट रहेको थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले सो कार्यक्रमको आयोजना गर्न गइरहेको छ । कोरोनका कारण कार्यक्रममा थोरै सहभागीहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज नयाँ दिल्ली गएको छन् । परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

गत वर्ष नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । जसको कारण पनि परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तर नागरिक समाजका अगुवाहरुले भने परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका विषयमा सहमति नगर्न आग्रह गरेका छन् । भ्रमण सकेर माघ ३ गते मन्त्री ज्ञवाली स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्