यातायात क्षेत्रमा बेथिति, कर बुझाउँदैनन् व्यवसायी



काठमाडौं : नेपालका यातायात क्षेत्रमा बेथिति रहेको बताइएको छ । यातायात व्यवसायीले गरेको लगानी र दैनिक आम्दानी अनुसार नेपाल सरकारलाई कर नतिर्ने गरेको सार्वजनिक सुधार अभियन्ता प्रेमबहादुर थापाले बताएका छन् । थापा २०६९ सालदेखि यातायात क्षेत्रमा भएको बेथिति हटाउनका लागि अभियान चलाउदै आएका छन् ।

उनका अनुसार यातायात व्यवसायीको लगानी र दैनिक आम्दानी अनुसारको राजस्व उठाउने हो भने खर्बौं राजस्व आउने थियो । तर सरकारले त्यस्तो गर्न नसकेको उनको भनाइ छ । गाडीको मूल्य सरकारले कायम गर्ने, गाडीको लगानी कति हो त्यो पनि बाहिर ल्याउनुपर्ने, गाडीको दिनको आम्दानी कति हो त्यो पनि डाटा लिनुपर्ने उनको भनाइ रहेको छ । उनले यातायातका बिचौलियालाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । उनका अनुसार नेपालमा भाडाका गाडी पाँच लाख रहेका छन् । यसमा यातायात व्यवसायीको पन्ध्र खरब लगानी रहेको छ ।

यातायात व्यवसायीको लगानी अनुसार राज्यलाई राजस्व नआएको उनले बताए । ट्राफिक प्रहरीले पञ्चीकरण नगरेका गाडीलाई नसमातेको उनले बताए । यस्तै अटो रिक्सा यातायात कार्यालयमा दर्ता नभएर पालिकामा दर्ता हुँदा राज्यले ठूलो राजस्व गुमाइरहेको उनले बताए । उनका अनुसार ट्याक्सीमा पनि उस्तै समस्या रहेको छ । २० वर्ष अगाडिको गाडीको नम्बर अहिले नयाँ ट्याक्सीमा हालेर चलाईरहेको उनले जानकारी गराए । सरकारले २०४९ सालदेखि राजस्व पनि नबढाएको बताए ।

सरकारले २०७१ सालको मन्त्रिपरिषद्को बैठकबाट २० वर्ष पुराना गाडीलाई विस्थापन गर्ने निर्णय गरेको थियो । पुराना गाडीले वातावरण प्रदूषण, दुर्घटना बढी भयो भनेर विस्थापित गरियो तर अहिले सडकमा गुडिरहेको उनले बताए । उनका अनुसार अहिले २० वर्ष पुराना तीन हजार भन्दा बढी गाडी चलिरहेका छन् । सरकारले बनाएको मापदण्ड यातायात व्यवसायीले पालना गरिरहेका छैनन् उनले भने ट्राफिक महाशाखा र यातायात व्यवस्था कार्यालयले अनुगमन गर्दैन । उनले सरकारले तोकेको भाडा हेडिङ बोर्डमा लेखेर चोकमा राख्नुपर्ने बताए । उनका अनुसार अहिले पनि यातायात व्यवसायी भाडा बढाउनका लागि मन्त्रीसँग लभिङ गरिरहेका छन् ।

यसअघि २०६९, २०७०, २०७२, २०७४ र २०७५ सालमा सरकारले २० प्रतिशत भाडा बढाएको थियो । राज्य यातायात व्यवसायीको अगाडि लम्पसार पर्दा राज्यले राजस्व नपाएको र जनताले सेवासुविधा नपाएको उनले बताए । यस्तै उनले दुर्घटना हुँदा दिनमा १०÷११ जनाको मृत्यु हुने गरेकोले पुराना गाडीलाई चलन नदिने, १० कक्षा पास गरेकोलाई मात्र लाइसेन्स दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्