यसवर्ष काठमाडौंको ‘माघी महोत्सव’ हलमा सीमित



काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा हुँदैछ ।

महोत्सवको अवसरमा नयाँ बानेश्वर थापा गाउँस्थित थनेत तरकारी बजारमा पनि महोत्सवको आयोजना गरिएको छ । कोरोनाका कारण माघी महोत्सव सीमित ठाउँमा गर्नु परेको महोत्सव मूल आयोजक समितिका संयोजक कनुलाल चौधरीले बताएका छन् ।

उनका अनुसार दिउँसो १ बजे विजुली बजारबाट झाँकी र्यालीको आयोजना गरिएको छ । महोत्सवमा १५० वटा स्टलहरु पनि राखिएको छ । स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषलेलगाउने विभिन्न पहिरनका सामग्री राखिएको छ ।

यसैगरी थापा गाउँस्थित थनेत तरकारी बजारमा थारु फुड फेस्टिबलको आयोजना गरिएको छ । थारु परिकारमा ढिक्री, अन्दीको भात, लाया, घोँघी, सुँगुरको मासु, माछा, सिपी, गँगटा, सिध्रा राखिएको समितिका प्रचार–प्रसार विभाग प्रमुख पुजा गोजेबार थारुले जानकारी दिएकी छिन् ।

माघको दिन पाप गर्न नहुने भन्दै थारु समुदायले पुषको अन्तिम दिन (जिता मार्ने) भन्दै मासु घरमा ल्याउने र आज केही परिकार बनाइ खाने गर्दछन् । माघीको दिन थारु समुदायले बिहानै कुखुरा बासेपछि सामूहिक रुपमा जलाशयमा गएर स्नान गरी पुर्खाको आशीर्वाद थाप्ने चलन छ ।

कैलाली, दाङ, कञ्चनपुर, बाँके, बर्दियालगायत थारु बाहुल्य जिल्लामा माघ मिलन तथा माघ महोत्सव, मेलाको आयोजना गरी धुमधामले मनाउने गरिन्छ । यसको लागि सरकारले सार्वजानिक विदा दिने गरेको छ भने स्थानिय सरकारले ठाउँअनुसार २-३ दिनसम्म विदा दिने निर्णय गरेका छन् ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्