अनुसन्धान गर्न चीन पुगेको टोली २ साता क्वारेन्टिनमा बस्ने



काठमाडौं : कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न चीनको बुहान पुगेको डब्लुएचओको टोली २ साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली बुहान पुगेको हो । बिबिसीका अनुसार १० सदस्यीय वैज्ञानिकको टोलीले शुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछ ।

उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेतनामका विज्ञहरू सहभागी रहेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण पहिलो पटक सन् २०१९ मा चीनको वुहानमा भेटिएको थियो ।

बेइजिङले कोरोनाको महामारी चीनबाट सुरू नभएको दाबी गर्दै आएको छ । डब्लुएचओका प्रो.डेल फिसरले यो अध्ययन कुनै राजनीति वा आरोप लगाउन नभई वैज्ञानिक प्रश्नको गहिराइमा पुग्न भएको बताएका छन् ।

८ महिनापछि आज चीनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । चीनले ठूलो संख्यामा परीक्षण, कडा लकडाउन र कडा भ्रमण नियमहरू लागू गरी महामारीलाई नियन्त्रणमा लिएको थियो ।

तर, केही हप्तायता विशेष गरी चीनको उत्तरी हिबेई प्रान्त र उत्तरपूर्वी क्षेत्रको हेइलोङझ्याङ प्रान्तमा नयाँ संक्रमण पुनः देखा परेको छ ।

प्रकाशित :१ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्