कक्षा १२ को नतिजा माघ १० भित्रै



काठमाडौं : कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल (ईजोन) ले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले बताए ।

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी गराए । केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उनले बताए ।

दिनुपर्ने अंक, विद्यार्थीको विवरण, उल्लेखित मापदण्ड लगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताए । जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो ।

परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् । यसपटक ४० प्रतिशत अंक सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अंकका आधारमा र २० प्रतिशत अंक प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ ।

प्रकाशित : १ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्