विप्लव समूहद्वारा संघर्षका कार्यक्रम घोषणा



काठमाडौं । आफ्ना नेता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
विप्लवले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता बाँस्तोला पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।
विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’ विज्ञप्तीमा उनले पक्राउ परेका नेताहरुको तुरन्त रिहा गर्न माग गरेका छन्
प्रहरीले बाँस्तोलासहित नेता विवेक कुमाल र रोजन रखाललाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरुलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्