चुनावको तयारीमा लाग्न नेताहरुलाई ओलीको निर्देशन



काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् ।
ओली पक्षको बिहिबार बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा उनले सरकारले निर्वाचनको घोषणा गरिसकेकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए ।


बैठकका सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा र निर्वाचन आयोगमा दल दर्ताका विषयमा भइरहेको गतिविधिबारे छलफल भएको थियो । बैठकका निर्वाचन तोकिएको समयमा गर्नेबारे पनि छलफल भएको छ ।
बैठकमा ओलीले भने, ‘अब निर्वाचनमा जाने हो । बैशाख १७ र २७ गतेबाट एकदिन पनि निर्वाचन ढिलाइ हुँदैन ।’ निर्वाचन आयोगबाट पार्टीको आधिकारिता आफूहरुले नै पाउने पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आश्वस्त पारे ।
‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक त गर्न सक्दैन । त्यस्तो अवस्थामा को हुन्छ र आधिकारिक ? सूर्य चिह्न र नेकपा हाम्रै हो,’ छलफलमा ओलीले भने ।
छलफलमा ओलीले भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका थिए । यस्तै उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे सुवास नेम्वाङसँग जानकारी लिए ।
स्थायी कमिटीमा नरहेका मन्त्रीहरुलाई पनि ओलीले निर्वाचन केन्द्रित हुनेगरी गतिविधि गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्