अदालतलाई प्रभावित पार्ने काम बन्द गरौं : देउवा



पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेकाले यसलाई प्रभावित पार्ने खालको अभिव्यक्ति कसैबाट आउन नहुने बताए ।
प्रधानमन्त्री र राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै उनले आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’देउवाले प्रश्न गरे ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए । ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो,’उनले भने ।
अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उनले चेतावनी दिए । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन्,’ देउवाले भने । कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने र अदालतको निर्णयको पर्खाइमा रहेको उनले बताए ।
पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा वैशाखमा निर्वाचन नहुने आशंका बढेकोप्रति कटाक्ष गर्दै देउवाले यदि त्यसो हुन नसके प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने बताए । ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन ।’

प्रतिक्रिया दिनुहोस्