प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज पनि, आन्दोलनका थप कार्यक्रम ल्याइने



काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तय भएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिईन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने आजको बैठकले अर्का अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कार्यसूची छ ।

पार्टी विभाजनपछि केपी ओली समूहमा लागेकाहरूलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी नेपालले प्रस्ताव तयार पारेका छन् । केन्द्रदेखि जिल्ला तहसम्मका सबै कमिटीमा एकैसाथ जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको बताइएको छ ।

पुस ५ गतेको प्रधानमन्त्री केपी ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि त्यसविरूद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा आन्दोलित छ ।

तर, आन्दोलन सोचेअनुरूप उठ्न नसकेको, जन सहभागिता न्यून हुँदै गएको र जनतालाई आन्दोलनमा ल्याउन नसकेको समीक्षा भइरहेको छ । संसद् विघटनको घोषणालगत्तै पुस १४ गते व्यापकरूपमा जनसहभागितासहितको प्रदर्शन गरिए पनि त्यसयता उपत्यकाको आन्दोलन कमजोर बनेको स्थायी कमिटी सदस्यहरूले बताएका छन् ।

हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले उपत्यका केन्द्रित आन्दोलन प्रभावकारी नभएको विश्लेषण गरेका थिए । आजको बैठकले जनप्रदर्शनसहितका थप कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्