नेपाल–भारत संयुक्त आयोगको बैठक आज, पाउला त सीमा विवादले निकास ?



काठमाडौं : नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो ।

बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नै नयाँदिल्ली पुगिसकेका छन् । भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन् । बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने तयारी गरेको बताइएको छ ।
आजको बैठकमा नेपालले कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ । भारतीय पक्षले खोप कसरी दिने भन्नेबारे बताउने अपेक्षा गरिएको छ ।

भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन आफ्नै देशमा उत्पादन गरिरहेको छ । भोलिदेखि भारतमा यो भ्याक्सिन आम नागरिकलाई लगाउन थालिने छ । संयुक्त आयोगको बैठकमा कालापानी, लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन । किनकी भारतीय पक्षले यसअघि बिहीबार संयुक्त आयोग र सीमा विवाद फरक बिषय भनिसकेको छ ।

बैठकपछि नेपाली टोलीको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले दिवाभोजको आयोजना गरेका छन् । उक्त दिवाभोजपछि परराष्ट्र मन्त्री ज्ञवालीले भारत सरकारनिकट थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गरेको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नेछन् ।

शनिबार बिहान उनले परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने भारतीय पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि छ । परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको टोली शनिबार दिउँसो २ बजे काठमाडौं फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्