प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट



काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि पुरुष क्रिकेट सुरु हुन लागेको हो ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । आगामी १७ गतेसम्म हुने प्रतियोगितामा सात प्रादेशिक टिम र तीन विभागीय टिम गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । १६ दिनसम्म चल्ने प्रतियोगितामा कूल २३ खेल हुनेछ ।

जसमा २ देखि १२ गतेसम्म लिग चरणका ११ खेलहरु त्रिवि मैदानमा हुने क्यानले जनाएको छ । यस्तै ४ देखि १२ गतेसम्म मुलपानीमा लिग चरणका ९ खेलहरु हुनेछ । माघ १४ र १५ गते त्रिवि मैदानमा सेमिफाइनल खेल हुनेछ भने १७ गते त्रिवि मैदानमै फाइनल खेल हुनेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफसहित प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश छन् । यस्तै समूह बी मा साविक विजेता नेपाल पुलिससहित प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज समूह ‘ए’मा रहेका त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्