अबको डेढ महिनाभित्र कोरोनाबाट थप ३० लाख मानिसको मृत्यु हुनसक्ने : अध्ययन



काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक चिनियाँ धध्ययनले देखाएको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी), चिनियाँ जनमुक्ति सेना र सार्वजनिक स्वास्थ्य अनुसन्धान इन्स्टिच्युटका विज्ञहरूको अनुसन्धानले आउने मार्चको सुरूसम्म कोरोनाका कारण थप ३० लाखको मृत्यु हुनसक्ने देखाएको हो ।

अहिले विश्वमा कोरोनाबाट २० लाख मानिसको मृत्यु भएको छ । सिडिसीका प्राध्यापक डा. सु जियानकोउको नेतृत्वमा भएको अनुसन्धानको रिपोर्टमा आगामी दिनमा विश्वका नागरिकले महामारीको नयाँ झड्काको सामना गर्नु पर्ने चेतावनी दिइएको छ । अनुसन्धानको नेतृत्व गरेका सुलाई यसअघि चीन सरकारले वुहानमा कोरोनाको अध्ययन गर्न पनि पठाएको थियो ।

चीनले महामारीलाई निकै हदसम्म नियन्त्रणमा राखेको भए पनि धेरै देशहरू अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छन् । नयाँ खालको कोरोनाभाइरसले महामारी विरूद्धको लडाइँलाई झन् चुनौतीपूर्ण बनाएको छ ।

अहिलेसम्म संसारभर ९ करोड २० लाख मानिसमा संक्रमण देखिएको छ । सुको अनुसन्धान अनुसार मार्चको सुरूसम्म १७ करोड संक्रमित हुन सक्ने छन्। सबैभन्दा खराब अवस्थामा अमेरिका ३ करोड मानिस संक्रमित हुन सक्छन् भने त्यसपछि भारतमा एक करोड ५५ लाख, ब्राजिलमा १ करोड ५० लाख र रूसमा ६० लाख मानिस संक्रमित हुन सक्छन् ।

कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका सांघाईको इन्स्टिच्युट पास्टेरका अर्का एक अनुसन्धानकर्ताले मार्चसम्ममा ५० लाख मानिसको मृत्यु हुने गरी महामारी फैलिए विश्वको स्वास्थ्य प्रणालीले काम गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्