संसद विघटनबारे सर्वोच्चले जे फैसला गर्छ त्यो सबैले मान्नुपर्छ : अध्यक्ष तिमिल्सिना



पोखरा : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्चले जे फैसला गर्छ त्यो सबैले मान्नुपर्ने बताएका छन् । अहिले चुनाव हुँदै हुँदैन भन्न नहुने र चुनाव हुने/नहुने अदालतमा भर पर्ने उनले बताए ।

पत्रकार महासंघ कास्कीको पन्ध्रौं साधारणसभामा शुक्रबार तिमिल्सिनाले भने, ‘अदालतले चुनाव भन्यो भने हुँदैन किन भन्ने । चुनाव हुनुपर्छ, हुन्छ–हुन्छ भनेर जानुपर्छ ।’ झन्डै दुई तिहाइ मत ल्याएको नेकपाले राजनीतिक स्थिरता दिन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

राजनीतिक हिसाबले सरकार अस्थिर भएपछि विकास निर्माणका काम हुन नसकेको निचोड निकालेर संविधानपछिको निर्वाचनमा सबै दल त्यसैलाई मुद्दा बनाएर गए पनि गति नलिएको बताए ।

नेपाली जनताले पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म देख्न नपाउनु विडम्बना रहेको तिमिल्सिनाले बताए । अहिलेको अवस्था नेपाली जनताले नचाहेको र राष्ट्रको हितमा पनि नभएको तिमिल्सिनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्