
काठमाडौं : अभिनेत्री रेखा थापाले चलचित्र ‘मल्लिका’ रिलिजपछि २ वटा फिल्मको घोषणा गरेकी छिन् ।
तर, निर्माण घोषणाको २ वर्ष बितिसक्दा पनि उनका चलचित्र निर्माण हुन सकेका छैनन् । रेखाले हालै रेनशा बान्तवा राईको निर्देशनमा एउटा चलचित्रको घोषणा गरिन् ।
उनीसँगको औपचारिक सम्झौताको फोटोसमेत सार्वजनिक भएको छ । घोषणाको लामो समय निर्माण सुरु नभएपछि रेनशा आफ्नै घरेलु ब्यानर तिर लागिन् । उनको ‘आइ एम ट्वान्टी वान’ को झण्डै ८० प्रतिशत सुटिङ सकिएको बताइएको छ ।
अर्को फिल्म सवीर श्रेष्ठको निर्देशनमा बन्ने खबर सार्वजनिक भएको थियो । जुन चलचित्रमा रेखा आफैंले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने बताएकी थिइन् । चलचित्रका लागि सौगात मल्ल र दयाहाङ राई अनुबन्ध भएको खबर सार्वजनिक भयो । यी दुवै फिल्म अहिलेसम्म हल्लामा मात्रै सीमित छन् ।
रेखाले अब आउने वैशाखमा चलचित्र निर्माण सुरु गर्ने बताएकी छिन् । उनले वैशाखबाट फ्लोरमा जाने फिल्ममार्फत् आफू फरक अवतारमा देखा पर्ने पनि बताएकी हुन् । बाँकी कलाकार र चलचित्र निर्माणको औपचारिक जानकारी दिने तयारीमा रहेकी रेखाले भनिन्,‘इन्डस्ट्रीमा नयाँ कलाकारको धमकेदार इन्ट्री हुँदै छ ।’
दुई वर्षदेखि सुटिङ डेट तोकिँदै रोकिँदै गरेका रेखाका २ फिल्म आगामी वैशाखमा फ्लोरमा जान्छन् या जाँदैनन् त्यो भने त्यतिबेला नै थाहा हुनेछ ।
प्रकाशित :२ माघ, २०७७