एमीकस क्युरीको बहस, न्यायाधीश संख्या बढाउन राय



काठमाडौं : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न बोलाइएका एमीकस क्युरीले अहिले बहस गरिरहेका छन् । एमीकस क्युरीले कसैको पक्षमा नलागेर आफ्नो स्वतन्त्र विचार दिने छन् ।

नेपाल बार एशोसिएसनबाट सिफारिश एमिकस क्युरी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय दिएका छन् । संसद विघटनविरुद्ध परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा विचाराधीन छ ।

१२ रिट निवदेकले यो मुद्दा बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेपछि यसबारे नै बहस भइरहेको छ । नेपालको संविधानले प्रधानन्यायाधीश र चार न्यायाधीश रहने भनेको न्यूनतम भएको भन्दै कार्कीले भने, ‘मुद्दाको अवस्था र गम्भीरता हेरेर थप गर्न सकिन्छ ।’तर प्रधानन्यायाधीश जबराले संविधानभन्दा बाहिर जान कहाँ मिल्छ ? भन्दै कार्कीलाई प्रश्न गरेका थिए ।

वरिष्ठ अधिवक्ता कार्कीले न्यायाधीश थप गर्दा संविधान उल्लंघन भएको नमानिने बताए । यो विषयको गम्भीर्यतालाई ध्यामा दिएर न्यायाधीश संख्या बढाउन सकिने उनले बताए । कार्कीपछि नेपाल बार एसोसिएसनले नै एमिकस क्युरीमा सिफारिश गरेका वरिष्ठ अधिवक्ताहरु सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नेछन् । यस्तै सर्वोच्च अदालत बार एसोसिएसनले सिफारिश गरेका वरिष्ठ अधिवक्ताहरू खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यले पनि एमिकस क्युरीको रुपमा बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्