जोशीको जन्मशताब्दी मनाउन समिति, ३० वैशाखमा ललितपुर महानगरमा बिदा



काठमााडाै‌ं : वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाले समिति गठन गरेको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गरी मेयर चिरिबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरिएको जनाएको छ ।

समितिमा राष्ट्रियसभाका सांसदहरू, प्रतिनिधिसभाका सांसदहरू, प्रदेशसभाका सांसदहरू, काठमाडौं महानगरपालिकाका मेयरलगायत छिमेकी नगरपालिकाका मेयर रहनेछन् । ललितपुर महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा महोत्सव कार्यसम्पादन समितिसमेत गठन भएको छ । 

३० वैशाख ०७६ देखि एक वर्षसम्म विभिन्न कार्यक्रम गरी जन्मशताब्दी महोत्सव मनाउन लागेको महर्जनले बताए । उनले भने ‘जीवन छँदा नै सम्मान गर्ने परम्पराको सुरुवात गर्न महानगरपालिकाले जन्मशताब्दी महोत्सव मनाउन लागेको हो ।

त्याग, तपस्या, योगदानलाई मृत्युपछि मात्रै सम्मान गर्ने परम्परा तोड्नुपर्छ भन्ने मान्यता महानगरपालिकाको छ ।’ महानगरले जोशीको जन्मशताब्दीको अवसरमा ३० वैशाखमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्