जसपामा भाडभैलो सुरु



काठमाडौं : जसपाका शीर्ष नेताहरुबीच वरियताक्रमको विवाद उत्पन्न भएको छ । सिराहामा शनिबार हुने पार्टीको विरोध कार्यक्रममा वरियताको विषयलाई लिएर पूर्व राजपा र पूर्व समाजवादी पार्टीका शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको हो ।

राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ । विरोध कार्यक्रका लागि पार्टीले जारी गरेको वरियताक्रममा पूर्व राजपाका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

सिरहाबाट प्रतिनिधि सभामा निर्वाचित तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका नेता राजकिशोर यादवलाई वरियतामा तल पारेपछि सिरहामा जसपाका जिल्ला नेता राजराम यादवले अध्यक्ष उपेन्द्र यादवलाई फोन गरी कालो झण्डा देखाउने चेतावनी दिएका छन् ।

अध्यक्ष यादव जिल्ला नेता राजारामसँग फोनमा नराम्ररी प्रस्तुत भएपछि वरियता नमिलाए कालो झन्डा देखाउने र कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका हुन् । वरियताक्रम मिचेर मधेश आन्दोलनको मर्म र असली कार्यकर्तालाई अपमानित गर्न खोजिएको यादव निकटका नेताहरुको आरोप छ ।

एउटा पार्टीको नेतृत्व गरी सकेका व्यक्तिलाई अहिले अपमानपूर्ण तरिकाले चौथो वरियतामा राखिएको सिरहाका नेता यादवले आरोप लगाए । ‘राजकिशोर एउटा पार्टीका नेतृत्व गरिसकेको, सिरहाबाट प्रतिनिधिसभामा चुनाव जितेको तथा पूर्वसंघीय मन्त्री पनि हुन् । आफूभन्दा वरियतामा तल रहेका नेतालाई कार्यक्रममा सबैभन्दा माथि राखिएपछि राजकिशोर यादव कार्यक्रममा सहभागी हुने कुरै भएन,’यादवले दनेपाल टपसँग भने ।

सिरहाका नेता यादवले अध्यक्ष यादवलाई फोन गर्दै जिल्लाका संसद कार्यक्रममा सहभागी नहुँदा राम्रो सन्देश नजाने सुनाएका छन् । उनको कुरा सुनेर अध्यक्ष यादवले भनेका छन् ‘के यो कार्यक्रममा सहभागी नभएर ओलीको कार्यक्रममा सहभागी हुने त ? ’ संवादमा अध्यक्ष यादवले राजाराम यादवलाई कार्यक्रममा सहभागीका लागि पठाइएको नाममा कुनै वरियताक्रम नरहेको पनि दाबी गरे ।

‘प्रकाश अधिकारीको मधेश आन्दोलनमा कुनै योगदान छैन, जिल्लामा उनको कुनै चर्चा पनि छैन,’ राजारामले भनेका छन् । जवाफमा अध्यक्ष यादवले प्रकाश अधिकारीको योगदान मधेश आन्दोलनभन्दा पहिलादेखिको हो भनि जवाफ दिदैँ कार्यक्रममा कुनै वरियताक्रम नभएको र राजकिशोर यादव कार्यक्रममा सहभागी हुँदा राम्रो हुने भनेका छन् ।

अध्यक्ष यादवबाट चित्त बुझ्दो जवाफ नआएपछि उनले ‘पार्टी, डिक्टेटरसीप चल्दैन, तपाईं पार्टीको अध्यक्ष भए त के भयो तपाईको पनि विरोध हुन्छ,’ भनेका छन् । उनले यादवलाई पार्टीबाट नै कालो झण्डा देखाइने चेतावनी पनि दिएका छन् । त्यसपछि उपेन्द्र यादवले ‘वकवास नगर्नुस् । पार्टीमा काम गर्नुछ भने गर्नुस्, नत्र भाग्नुस’ भन्ने कडा जवाफ दिएका छन् ।

जसपाले आफ्नो निर्धारित कार्यक्रम अनुसार माघ ३ गते शनिबार सिराहामा विरोध कार्यक्रम गर्न लागेको छ । तर जसपा अध्यक्ष यादव पूर्व राजपा पक्षीय नेताको वरियता मिचेर अतिथि वक्तको रुपमा चयन गरेका छन् । पार्टी वरियताक्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई उनकै गृह जिल्ला सिराहाको कार्यक्रममा समेत तल पारिएपछि विवाद उत्पन्न भएको हो । जबकि राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, प्रकाश अधिकारी र विजय यादवभन्दा माथि मानिन्छन् ।

विरोधसभामा प्रमुख अतिथिमा रेणु यादवलाई राखिएको छ भने दोस्रो वरियतामा कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई राखिएको छ भने तेस्रो वरियतामा कार्यकारिणी सदस्य एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवलाई राखिएको छ । त्यसपछि मात्रै चौथो नम्बरमा नेता राजकिशोर यादवलाई राखिएको छ । माथि वरियतामा राखिएका तीनै जना अध्यक्ष उपेन्द्र यादव पक्षधरका नेता हुन् ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्